Friday, November 20, 2009

होटलमा बास बसेकी महिलामाथि सामूहिक बलात्कार

होटेलमा बास बसेकी एक महिला मध्यरात कोठाभित्रै सामूहिक बलात्कारको सिकार भएकी छिन् । तीन सन्तानकी आमा कमला (नाम परिवर्तन) लाई राति १२ बजे झ्यालबाट कोठाभित्र प्रवेश गरी बलात्कार गरेको पीडित महिलाले उजुरी दिएपछि प्रहरीले जबर्जस्ती करणी गर्ने चारजना र मिलोमतोको आशंकामा होटलमालिकलाई पक्राउ गरेको छ । बुटवल नगरपालिका वडा नं ८ ट्राफिकचोकस्थित जयभुँडी होटल एन्ड लजमा बास बस्न आएकी २९ वर्षिया ती महिलालाई होटल सञ्चालक जयराम भट्टराईको मिलोमतोमा चारजना युवाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ । कार्यालयप्रमुख प्रहरी नायब उपरीक्षक ठाकुर ज्ञवालीले पक्राउ परेकाहरूले प्रारम्भिक बयानमा बलात्कार गरेको स्विकारेको जानकारी दिए ।
२० असोजको राति उक्त होटलमा एक सन्तानसहित बास बसेकी महिलालाई सामूहिक रूपमा बलात्कार गरेको आरोपमा प्रहरीले रूपन्देही करहिया-८ का कपिल खरेल, करहिया-१० का विवेक कुँवर, बुटवल नगरपालिका-९ का अमित गुरुङ र नवीन गुरुङलाई पक्राउ गरेको छ । होटलमा कोठा लिएर बसेकी ती महिलालाई आरोपी युवाले साँझदेखि जिस्क्याएको पीडित महिलाले प्रहरीसमक्ष बताएकी छिन् । उनीहरूको शंकास्पद गतिविधिबारे ती महिलाले मालिकलाई बताएकी थिइन् । राति करिब १२ बजे होटलको सिँढीतर्फको भ्यालबाट कोठामा छिरी उनीहरूले सामूहिक बलात्कार गरेको पीडित महिलाले प्रहरीसमक्ष बताएकी छिन् । राति नै आफू बलात्कार भएको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले होटलमालिकसहित चारैजना युवालाई बुधबार पक्राउ गरेको हो ।
बुटवलकै एक होटलमा काम गर्ने ती महिलालाई आफन्त पर्ने एक व्यक्तिले उक्त लजमा राखेर गएका थिए । घटनाबारे राति नै होटलमालिकलाई जानकारी दिँदा उनले वास्ता नगरेपछि घटना होटलमालिक भट्टराईको मिलोमतोमा भएको पीडित महिलाले उजरीमा दाबी गरेकी छिन् । प्रहरीले पक्राउ परेका पाँचैजनालाई जबर्जस्ती करणी गरेको अभियोगमा कारबाही अगाडि बढाउने जनाएको छ । प्रनाउ ज्ञवालीका अनुसार घटनाबारे अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

No comments:

Post a Comment